नियम १८
मनोनयनपत्रको जाँच गर्ने
(१) निर्वाचन अधिकृतले ऐनको दफा १९ बमोजिम मनोनयनपत्रको जाँच गर्दा ऐनको दफा १८ बमोजिम कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै दाबी विरोधमा उजूरी परेको रहेछ भने सो सम्बन्धमा समेत आवश्यक जाँचबुझ गरी निर्णय गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गर्दा एकै व्यक्तिको दुईवटा मनोनयनपत्र दर्ता भएकोेमा एउटा मात्र मनोनयनपत्र रीतपूर्वकको रहेछ भने रीतपूर्वकको मनोनयनपत्र कायम गर्नु पर्नेछ र दुवै मनोनयनपत्र रीतपूर्वकका रहेछन् भने सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकको इच्छा अनुसार कुनै एउटा मनोनयनपत्र कायम गर्नु पर्नेछ ।
तर त्यस्तो उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित नभएको अवस्थामा निर्वाचन अधिकृतले पहिले दर्ता भएको मनोनयनपत्र कायम गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम मनोनयनपत्रको जाँच गर्दा उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकको उपस्थितिमा गर्नु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनयनपत्र जाँच गर्नको लागि निर्धारित समयमा उम्मेदवार वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थक उपस्थित नभएमा मनोनयनपत्र जाँच गर्न कुनै बाधा पर्ने छैन ।
(५) मनोनयनपत्रको जाँच गर्दा सो मनोनयनपत्रमा रहेको सानोतिनो भूलचुकको कारणले मात्र सो मनोनयनपत्र बदर हुने छैन ।
स्पष्टीकरण : यस उपनियम र नियम ३० को उपनियम (२) को प्रयोजनको लागि “सानोतिनो भूलचुक” भन्नाले मतदाता नामावलीमा वा मनोनयनपत्रमा उम्मेदवार, प्रस्तावक, समर्थक, निजसँग सम्बन्धित व्यक्ति वा मतदाताको नाम, थर, उमेर, वतन वा क्रमसङ्ख्याको लेखाई वा छपाई सम्बन्धी प्राविधिक वा अक्षर, मात्रा वा अङ्कको सामान्य त्रुटि सम्झनु पर्छ ।